काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन्।
मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले अहिले फ्युल बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए।
उनले सबै महंगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने बताए। मन्त्री किरातीले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए। उनले १० वटासम्म जहाज नथपी पर्यटकहरु नेपाल नआउने दाबी गरे। दशैँअघि नै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने मन्त्री किरातीको दाबी छ।

