काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र श्रीलंका भिड्नेछन् ।
दुबै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन् । १० टोली सहभागि प्रतियोगितामा अंकबिहिन अष्ट्रेलिया पुछारमा छ भने श्रीलंका आठौं स्थानमा रहेको छ । पहिलो खेलमा आयोजक भारतसँग हारेको अष्ट्रेलिया दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । श्रीलंकालाई भने पहिलो खेलमा दक्षिण अफ्रिका तथा दोस्रोमा पाकिस्तानले हराएको हो ।
यसअघि हिजो भएको खेलमा अफगानिस्तानले इंग्ल्यान्डलाई झट्का दिएको छ । दिल्लीमा गएराति भएको खेलमा इंग्ल्याण्डलाई अफ्गानिस्तानले ६९ रनले हराएको हो । जितसँगै अफ्गानिस्तानले एक दिवसिय विश्वकप क्रिकेटमा अंकको खाता खोलेको छ । तिन खेलमा अफ्गानिस्तानको यो पहिलो जित हो भने इंग्ल्याण्डको दोस्रो हार हो ।