काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही र तराईका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्राधानाङ्गले जानकारी दिए।
उनका अनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आज हल्का हिमपातको सम्भावना रहेको छ। वर्षा भोलिसम्म रहने भएकाले आज र भोलि किसानले धान नकाट्दा राम्रो हुने मौसमविद् प्राधानाङ्गले बताए।
काठमाडौँमा अहिलेको वायुको तापक्रम १८ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटरभन्दा धेरै रहेको मौसम पूूर्वानुमान महाशाखाले जनाएको छ। आज काठमाडौँमा अधिकतम तापक्रम २५ देखि २७ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको र काठमाडौँमा अपराह्नतिर हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् प्राधानाङ्गले जानकारी दिए।
यसैगरी आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ।रासस

