काठमाडौं । नेपाल एससीसी यू–१९ प्रिमियर कपको फाइनलमा पुगेको छ । जितसँगै नेपालले यू–१९ एसिया कप खेल्ने पक्का गरेको छ ।
एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ । दुई महिनापछि हुने एसिया कपको छनोटका रुपमा रहेको यू–१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र जापान भिडेका थिए । जापानमाथि १४३ रनको जित निकालेको हो ।
मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा २ विकेट गुमाएर १४० रन बनाउँदा भारी वर्षा भएपछि खेल रोकियो । त्यसपछि खेल अघि बढ्ने अवस्था नरहँदा डकवर्थ लुइस मेथडका आधारमा जापानले २५ ओभरमा १८७ रनको लक्ष्य पायो ।
नेपालका लागि दिपक बोहोराले ७९ र अर्जुन कुमालले १० रन बनाएका थिए । खेल रोकिनुअघि आकाश त्रिपाठी ३५ र कप्तान देव खनाल ८ रन बनाएर क्रिजमा थिए ।
१८७ रनको लक्ष्य पछ्याएको जापान ११.४ ओभरमा मात्र ४३ रनमा समेटियो । नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले तीन/तीन विकेट लिए भने सुवास भण्डारीले दुई र आकाश चन्दले एक विकेट लिए ।