आज महाअष्टमी पर्व, दुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाइँदै

काठमाडौँ । महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।

आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ । सात्त्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्त्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्त्विक र पशु बलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशु बलि पनि शास्त्रीय हो ।

आजैका दिन राति कालरात्रिका रूपमा पशु बलिको विधि र पूजाआराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

महाअष्टमीका दिन राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ । कोरोना महामारीका कारण विसं २०७७ मा भने हनुमानढोकामा बलिसहित पूजा रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर