काभ्रेपलाञ्चोक । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँअन्तर्गत महाअष्टमीको शुभअवसरमा आज बिहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलकी धर्मपत्नी सबिता पौडेल पनि पूजाअर्चनामा सहभागी थिइन् ।
राष्ट्रपति पौडेल पाँचखाल नगरपालिका–९ पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा दर्शन गर्न आज बिहान पाँचखाल जानुभएको हो । बडा दशैँका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।
पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ । पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार छ सय ५५ वर्ष पहिले अर्थात् सन् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदीको रुपमासमेत लिने गरिन्छ ।
यस पलाञ्चोक शक्तिपीठमा विशेष गरी दशैँ, माघे–सङ्क्रान्ति र वैशाख पूर्णिमामा भक्तजनको ठूलो भिडभाड लाग्नेगर्छ । यहाँ दर्शन गर्दा मनोकामना पूरा हुने विश्वास गरिँदै आइएको छ ।

