त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेटमा नेपालको लगातार चौथो जित

काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच विकेटले पराजित गरेको छ ।

यूएईले जितका लागि दिएको १६५ रनको लक्ष्य नेपालले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा ओपनर असिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिए । कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै ४० रन जोडे ।

नेपालले सुरुआती तीन ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ललाई गुमाएको थियो । तर, कप्तान पौडेल र आसिफ शेखले ९९ रनको उत्कृष्ट साझेदारी गरेपछि नेपाल खेलमा फर्किएको थियो ।

यूएईका मोहम्मद जवादुल्लाहले दुई विकेट लिए भने अकिफ राजा र जहुर खानले समान एक/एक विकेट लिए ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६४ रनको योगफल बनाएको थियो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए । आसिफ खानले १८ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई/दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए ।

नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गरेको थियो । अब नेपालले यूएई र हङकङमध्ये एकसँग फाइनल खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय