मुगु। मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका छन्।
मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
उनले घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे घटनास्थलमा प्रहरी पुगेको बताए। घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ। हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगु ल्याइएको छ।
श्रीदेवी श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ। कसले के उद्देश्यले हत्या गर्यो खुल्न सकेको छैन। घटनाको अनुसन्धान जारी रहेको प्रनाउ थापाले बताए।

