काठमाडौं । नेपालीहरुको महान पर्व विजयादशमी बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गाभवानीको पूजाअर्चना गरेर टीकाप्रसाद ग्रहण गरेका छन् ।
राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले नवदुर्गाभवानीको प्रसाद ग्रहण गरेका हुन् । सो क्रममा राष्ट्रपति पौडेलले नवदुर्गाभवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरंगी धागो ग्रहण गरेका थिए । नवदुर्गाका देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई उनले दक्षिणा समेत प्रदान गरे ।

