काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपमा छनोट हुन सफल टिमलाई नगद पुरस्कारले सम्मान गर्ने भएको छ ।
आज बसेको संघको केन्द्रीय कार्य समितिको बैठकले सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा हुने विश्वकपमा छनोट हुन सफल टिमलाई ५० लाख रुपैयाँ नगदबाट सम्मान गर्ने निर्णय गरेको हो ।
बैठकले पुरुषतर्फ एसीसी यू–१९ प्रिमियर कपबाट सन् २०२४ मा हुने यू–१९ एसिया कपमा छनोट हुन सफल टिमलाई पनि नगदबाट सम्मान गर्ने निर्णय गरेको छ । यू–१९ टिमका खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने छन् ।
बैठकले नेपाली महिला टिमलाई हङकङमा हुने महिला ट्वान्टी–२० शृङ्खलामा सहभागी गराउने निर्णय गरेको छ । हङकङमा नोभेम्बर १५ देखि १९ सम्म हुने शृङ्खलामा चार टिम सहभागी हुने क्यानले जनाएको छ ।