काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पीडित पक्ष र अधिकारकर्मीहरुलाई सहमत गराएर मात्रै राजनीतिक दलहरुले संक्रमणकालिन न्यायसम्बन्धि विधेयकलाई टुंगोमा पुर्याउनुपर्ने बताएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालिन न्यायसम्बन्धि विधेयकमा दलहरु मिलेर मात्रै नपुग्ने बताए।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले विधेयकलाई निरन्तर छलफल गरेर टुंगोमा पुर्याउने काममा दलहरु आफैँ जिम्मेवार नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
अध्यक्ष तिमिल्सिनाले विधेयक बनाउँदा गम्भिर अपराधमा संलग्नहरुलाई आममाफी दिन नहुने स्पष्ट पारे। उनले संक्रमणकालिन न्यायसम्बन्धि विधेयकमा दलहरुका साथै पीडित तथा अधिकारकर्मीहरु समेत मिल्नुपर्नेमा जोड दिए।

