काठमाडौं । यहि कार्तिक १० गते मुगुमा भएको सामूहिक हत्या प्रकरणका आरोपीलाई प्रहरीले घटनाको १४ दिनपछि सार्वजनिक गरेको छ ।
छायानाथरारा नगरपालिका ६ मन्दुका २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, नौ वर्षीया छोरी अप्सरा र आठमहिने छोरा रहरको गत कात्तिक ८ गते हत्या भएको थियो ।
शव भने प्रहरीले कात्तिक १० गते फेला पारेको हो । उनीहरूको सामूहिक हत्या गर्ने बाँकेको कोहलपुरका गोरखबहादुर शाही र मन्दुकै गोपाल बोहोरालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले धारिलो खुकुरी प्रहार गरेर श्रीदेवीसहित उनका छोराछोरीको हत्या गरेको खुलेको हो ।
हत्या लगत्तै उनीहरू फरार भएका थिए । घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली गएको आइतबार मुगु पुगेको थियो । सीआईबीकै टोलीले घटनाको सफल अनुसन्धान गरेको हो ।
सीआईबीका एसएसपी दिनेश आचार्यले घटनालगत्तै काठमाडौंबाट प्राविधिक विश्लेषण गरेको र अहिले पक्राउ गर्न सहज भएको बताए ।
प्रहरीको अनुसन्धानका अनुसार धनमाल लुट्ने उदेश्यले उनीहरूले हत्या गरेको खुलेको छ ।

