काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन्। नेपाल सरकारको मन्त्रिपरिषद्ले सरकारी लिखतहरूमा नेपाल संव्त समेत उल्लेख गर्ने निर्णयको स्वागतमा प्रधानमन्त्रीलाई सम्मान गर्ने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको परिवर्तन साना दुखले आएको होइन। यो व्यवस्थाका निम्ति हजारौंले रगत बगाएका छन्, हजारौंले जेलनेल भोगेका छन्। लाखौं जनताले संघर्ष गरेका छन्। यो व्यवस्था कसैले उल्टाउन खोज्छ भने त्यो सपना मात्रै हो, तिनीहरूको सपना कहिल्यै पूरा हुँदैन।’
उनले अगाडि थपेका छन्, ‘संसारकै नियम हो- पराजित भइसकेका सामन्ती तत्त्वहरूले अन्तिम पटक टाउको उठाउन खोज्छन्। अहिले पनि त्यही कोसिस हुँदैछ। संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने सपना कसैले नदेख्दा हुन्छ। यस्तो दुष्प्रयास गर्नेहरूले फेरि अर्को मूल्य चुकाउनुपर्नेछ।’
प्रधानमन्त्री प्रचण्डले नेपाल संवत् नेपालको मौलिक संवत् भएको बताए। उनले भने, ‘हामीले विक्रम संवत् प्रयोग गरिरहेका छौं। कतिपय सन्दर्भमा अंग्रेजी संवत् पनि लेखिन्छ। तर, नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् हो। यसलाई राष्ट्रिय संवत्को रूपमा विकसित तुल्याउनुपर्दछ।’
संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्र गरिरहे आफूहरू थप कठोर हुन बाध्य हुने उनको चेतावनी छ। ‘एकथरि मान्छेहरू लोकतन्त्र र संस्कारको कुरा गर्दैछन्। उनीहरूको संस्कार के हो, लोकतन्त्र कस्तो थियो भन्ने कुरा हामीले राम्रोसँग देखिसकेका छौं। लुटको स्वर्ग गुमेको छटपटी उनीहरूको होला। तर, व्यवस्थाका विरुद्ध षड्यन्त्र गरिरहे हामी थप कठोर हुन बाध्य हुनेछौं,’ उनले भने।

