प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच ढुंगा हानाहान

काठमाडौं। दुर्गा प्रसाईंको कार्यक्रम स्थल बल्खु क्षेत्रमा दुई पक्षबीच ढुंगा हानाहान भएको छ। युवा संघ कार्यकर्ता र प्रसाईं पक्षबीच ढुंगामुढा भएको हो। प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ।

प्रदर्शनका क्रममा युवासंघका कार्यकर्तासँग जम्काभेट हुँदा दुई पक्षीय झडपको अवस्था निम्तिएको छ। कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो। दुर्गा प्रसाईंले ऋण मिनाहालगायतका माग राख्दै बल्खुमा विरोध प्रदर्शन गरिरहेका छन् भने युवा संघले भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध तीनकुनेमा विरोध गरिरहेको छ।

सडकका दुवै किनारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। उक्त क्षेत्रमा बख्तर बन्द गाडी र एम्बुलेन्स तयारी अवस्थामा छन्। चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ। विशेष गरी सुरक्षा निकाय कलंकी-बल्खु र तीनकुने क्षेत्रमा हाइअलर्टमा बसेको देखिन्छ। यी क्षेत्रमा सुरक्षाकर्मी निकै बाक्लो उपस्थिति छ। रिङरोडका दुवै किनारमा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन्। सुरक्षाकर्मीहरूले रिङरोड छिर्ने चोकहरूलाई विशेष निगरानी गरेको देखिएको छ।

भित्रका माइतीघरलगायतका शीतल निवास,प्रधानमन्त्री निवास, मन्त्री निवास क्षेत्र वरपर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिसकेको छ। सडकमा सार्वजनिक र निजी सवारीसाधनहरू अत्यन्त न्यून सङ्ख्यामा गुडिरहेका छन्। सार्वजनिकमा ट्याक्सी र केही छिटपुट रूपमा रुटका बसहरू सञ्चालनमा छन्। निषेधाज्ञाका कारण माइतीघर क्षेत्र सामान्य छ।

प्रतिक्रिया

सम्बन्धित खवर