काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न माग गरेका छन् । आज विज्ञप्ति जारी गर्दै डा. केसीले स्वास्थ्यमन्त्री बस्नेत ‘माफियाहरूका नाइके’ भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन् ।
‘मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो,’ केसीले भन्नुभएको छ, ‘यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्यमन्त्री माफियाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप हो । निजलाई तत्काल पदमुक्त गरियोस् ।’
यस्तै, मन्त्री बस्नेतले मर्यादा विपरीतका क्रियाकलाप गरी आइरहेको आरोप डा। केसीले लगाए । स्वास्थ्यमन्त्री बस्नेतसँग स्वास्थ्य सम्बन्धी ज्ञान, अनुभव नभएको र उनले जान्ने प्रयास समेत नगरेको आरोप डा. केसीको छ ।
शनिबार ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले डा। केसीलाई गिरोहले सञ्चालन गरिरहेको आरोप लगाएका थिए ।
उनले आफूमाथि लगाइएको आरोप कपोलकल्पित र झुटा भएको बताएका छन् । उनले आफूले यसअघि राखेका माग पूरा नभएमा मंसिर २९ गतेदेखि थप कडा मागसहित सत्याग्रहलगायत कार्यक्रमसहित सशक्त आन्दोलन शुरू गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

