काठमाडौं । मकवानपुरमा आज भएको मोटरसाइकल दुर्घटनामा आमा-छोरीको मृत्यु भएको छ भने बुवा घाइते भएका छन् ।
दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका २ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं. को मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको हो।
दुर्घटनामा चालक मकवानपुरगढी २ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतानको टाउकोमा चोट लागेको छ। उनी गम्भीर घाइते छन्। उनको उपचारको लागि हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
मोटरसाइकलमा सवार उनकी श्रीमती ३४ वर्षीया रूपा र अन्दाजी ४ महिने छोरीको घटनास्थलमै मृत्यु भएको डिएसपी भण्डारीले बताए।

