परराष्ट्रमन्त्री कतार प्रस्थान, विपिन जोशीको रिहाइका लागि पहल गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतारको राजधानी दोहा प्रस्थान गरेका छन्।

दोहा फोरम–२०२३ मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मन्त्री साउद शनिबार बिहान पौने ८ बजे कतार एयरलाइन्सको जहाजमार्फत् दोहा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

दोहा फोरममा विभिन्न देशका नेता तथा सरकारी अधिकारी सहभागी हुँदैछन्। भ्रमणका क्रममा उनले कतारका समकक्षी तथा उच्च अधिकारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साथै कतारमा गाजामा हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि मध्यस्थता गरिदिन आग्रह गर्ने मन्त्री साउदले बताएका छन्।

साउद दोहाबाटै मानव अधिकारसम्बन्धी कार्यक्रममा सहभागी हुन १२ डिसेम्बरमा जेनेभा प्रस्थान गर्ने कार्यक्रम छ। मन्त्रालयका अनुसार त्यहाँबाट मन्त्री साउद भूपरिवेष्ठित विकासोन्मुख देशहरूको मन्त्रीस्तरीय बैठकमा भाग लिन १३ डिसेम्बरमा अर्मेनियाको यरेभान जाने कार्यक्रम छ।

उनी १६ डिसेम्बरमा स्वदेश फर्किने तय भएको मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर