काठमाडौं । लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ।
क्रिस्टल प्यालेसमाथि २-१ गोलको पुनरागमन जित निकाल्दै लिभरपुल ३७ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। यो खेलमा मोहम्मद सालाहले क्लबका लागि दुई सयौँ गोल पूरा गरेका छन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दश खेलाडीमा समेटिएको घरेलु टोली क्रिस्टल प्यालेसले १–० गोलको अग्रता जोगाउन सकेन। ५७ औं मिनेटमा प्यालेसलाई फिलिप माटेटाले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए।
७५ औं मिनेटमा जोर्डन आएउ दोहोरो पंहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि प्यालेस दश खेलाडीमा झर्यो। त्यसको ९८ सेकेन्डमा सालाहले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याए।
लिभरपुलका लागि इजिप्टका फरवार्ड सालाहको यो २ सय गोल हो। सालाह क्लबका लागि यो सफलता हात पार्ने केवल तेस्रो खेलाडी हुन्। प्रिमियर लिगमा उनले १ सय ५० गोल गरेका छन्।
इन्जुरी समयमा हार्भी इलियोटले योर्गन क्लोपको टोलीका लागि विजयी गोल प्रहार गरे। इन्जुरी समय दश मिनेट थपिएको थियो।
शीर्षस्थानको लिभरपुलको १६ खेलबाट ३७ अंक छ। प्यालेस १६ अंकका साथ १५ औं स्थानमा छ।
लिगका अन्य खेलमा उल्भ्स र नटिङगम फरेस्टले एक–एक तथा ब्राइटन र बर्नलीले पनि एक–एक गोलको बराबरी खेले। शेफिल्ड युनाइटेडले ब्रेन्टफर्डलाई १ – ० गोलले हरायो। म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग ३–० ले पराजित भयो। एस्टन भिल्लाले आर्सनललाई १–० ले हरायो।