नेपालको शिक्षा अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शिक्षा मौलिक हुनुका साथसाथै अन्तर्राष्ट्रिय स्तरको हुनुपर्ने धारणा व्यक्त गरेका छन्। काठमाडौं विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहमा उनले शिक्षामा सुधार गर्न प्राप्त नीतिगत र व्यावहारिक सुधारका विषयमा सुझाव सल्लाहलाई राष्ट्रिय शिक्षा नीतिमा समायोजन गरिने आश्वासन दिए।

‘आजको वैश्विक युगमा नेपालको शिक्षा मौलिक हुनुपर्ने त छँदैछ, साथसाथै अन्तर्राष्ट्रिय स्तरको पनि हुनु अत्यावश्यक छ। त्यस सम्बन्धमा आएका नीतिगत र व्यावहारिक सुधारका कुरालाई राष्ट्रिय शिक्षा नीतिमा समायोजन गर्ने मेरो तर्फबाट हर सम्भव प्रयास हुनेछ,’ उनले भने। आज दीक्षित भएका विद्यार्थीहरूलाई प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट आर्जन गरेको ज्ञान र सीपलाई देशको र मानव जातिको हितमा लगाउन आग्रह पनि गरे।

नेपालका विश्वविद्यालयहरूबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश गएका युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न उनले अनुरोध गरे। प्रधानमन्त्री प्रचण्डले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर रहेको बताए। उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिने उनको भनाई छ।

‘नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन्। म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले काठमाडौं विश्वविद्यालयले जलवायु परिवर्तन र वातावरणका क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताए। कोप(२८ सम्मेलनमा काठमाडौं विश्वविद्यालयका वैज्ञानिकहरूले ऊर्जा सङ्क्रमण ९इनर्जी ट्रान्जिसन० मा यस विश्वविद्यालयले हासिल गरेको प्राविधिक उपलब्धिलाई कार्यान्वयन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँग गहन छलफल गर्न सफल भएको खुसी व्यक्त गरे। उनले दुबईमा आज समापन हुँदै गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालको उपस्थिति गहन र बलियो रहेको दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर