काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास र समृद्धिका लागि केन्द्रित हुनुपर्नेमा मुलुक अझै पनि राजनीतिक एजेण्डामै अल्झिरहेको टिप्पणी गरेकी छन्। गोरखापत्र संस्थानको प्रकाशन ‘दि राइजिङ नेपाल’को ५८औँ वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले अबको मुद्दा विकास र समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिइन्।
“विकास र समृद्धिमा लाग्नुपर्नेमा हामी अहिले पनि राजनीतिक मुद्दामै केन्द्रित भइरहेका छौँ। राजनीतिक दल, जनवर्गीय सङ्गठन लगायतले यो कुरा बुझ्न जरुरी छ। अहिले राजनीतिक परिवर्तनको मुद्दामा छैनौँ”, उनले भनिन्।
उनले सञ्चारमाध्यमले पनि जिम्मेवारीपूर्वक भूमिका बहन गर्नुपर्नेमा जोड दिइन्। पछिल्लो समय सूचना–प्रविधि र सामाजिक चेतनामा आएको परिवर्तनका आधारमा हामी अगाडि बढ्न सक्नुपर्ने उनको भनाइ थियो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले गोरखापत्र एक सक्षम सार्वजनिक संस्थानका रुपमा अघि बढ्न सक्नुपर्ने बताए। संस्थानअन्तर्गतका प्रकाशनमा आबद्ध सञ्चारकर्मीको क्षमता अभिवृद्धि गरी गुणस्तरीय समाचार सामग्री उत्पादनमा ध्यान दिनसक्नुपर्नेमा पनि उनले जोड दिए। गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा पत्रकारिता पेसामाथि चुनौती थपिएको बताए।

