काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक काठमाडौंको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा आज बिहानदेखि जारी छ। बैठकको प्रारम्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रस्ताव पेस गरेका छन्।
अध्यक्ष लिङ्देनले सत्ता केन्द्रित नभई आमजनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति हुने प्रष्ट पार्नु भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार समान विचार भएकासँग एकता तथा सहकार्य आवश्यक रहेको जनाइएको छ।
बैठकमा महामन्त्री डा धवलसमशेर राणाले वृहत् आन्दोलनसम्बन्धी कार्ययोजना, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालयसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताए। उनले भने, ‘अहिले प्रदेश प्रमुखले आ-आफ्नो प्रदेशको प्रतिवेदन पेस गर्दै हुनुहुन्छ। सबै प्रदेशको प्रतिवेदन पेस भइसकेपछि आजै छलफल प्रारम्भ हुनेछ।’

