मन्त्रिपरिषद् बैठकमा सरकारको एक वर्षको समीक्षा

काठमाडौं। मन्त्रिपरिषद् बैठकमा सरकारको एक वर्षको समीक्षा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बुधबार बसेको बैठकमा सरकारको एक वर्षको समीक्षा गरिएको हो।

बैठकपछि सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘सरकार गठन भएको एक वर्ष पुग्दै छ। त्यसमा सामान्य समीक्षा गरेको छौँ।’ बैठकमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले अपेक्षित काम हुन नसकेको ब्रिफिङ गरेका थिए।

‘मुख्यसचिवले समग्र कामलाई ‘पिकअप’ लिन, कतिपय प्रक्रियामा भएका समीक्षाहरू, हाम्रा इच्छा शक्तिमा भएका समस्याहरूदेखि लिएर हामीले निर्णय प्रक्रियामा सुधार गर्नुपर्ने कतिपय कुराहरू छन्। हाम्रा ऐन कानुन कार्यविधि, नियमावलीमा सुधार गर्नुपर्ने कुरामा पनि विस्तृत प्रस्तुति दिनुभएको थियो,’ प्रवक्ता शर्माले भनिन्। बताइन्।

सरकारको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा आजको बैठक केन्द्रित रहेको उनको भनाइ छ। सरकार गठन भएको पुस १० गते एक वर्ष पुग्दैछ। आजको बैठकमा सरकारको सामान्य समीक्षा भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा काम गराइ फिटिक्कै भएन भनेर चर्को असन्तुष्टि पोखेका थिए।

सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेको छ। र सोही भवनमा मन्त्रिपरिषद्को बैठक बसेको हो। अबदेखि नयाँ हलमा नै बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर