काठमाडौँ । परराष्ट्रमन्त्री एनपि साउदले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताएका छन् ।
आज शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताए । उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको जिकिर गरे ।
“प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता संस्थागत भएको छ, प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रुपमा राज्यले मान्यता दिएको छ”, परराष्ट्रमन्त्रीले भने । उनले संविधान जारी गरेपछि तीनै तहको निर्वाचन गरेर सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियशाील भएको बताए ।

