काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब २०८० को दशक तीव्र विकासको दशक हुने बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै मंगलबार प्रधानमन्त्री दाहालले नागरिकले महसुस गर्ने गरी विकास गरिने बताए ।
‘यस वर्ष सात सय ७६ दशमलव ६१ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ भने पाँच सय ८७ दशमलव ५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ, यसै अवधिमा एक सय ८१ दशमलव २९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलिएको छ, थप एक लाख ६२ हजार सुरक्षित आवास निर्माण गरी लाभग्राहीलाई उपलब्ध गराइएको छु, उनले भने, ‘यो आँकडाले अघिल्ला वर्षहरूभन्दा प्रगति त देखाउला तर म सन्तुष्ट छैन ।’
यस्तै उनले आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धिबारे जानकारी गराएका छन्। उनले सरकार असफल नभएको तर आफ्नो हुटहुटी अनुसार परिणाम नआएको स्वीकार गरेका छन्।

