काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि नेपाली कांग्रेस वाग्मती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । जसमा कलाकार नीर शाह, पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालसहित १० जना केन्द्रीय सदस्य पनि छन् ।
वाग्मती कांग्रेस संसदीय बोर्डका एक सदस्यका अनुसार केन्द्रीय सदस्यहरूमा जिपछिरिङ लामा, गणेश लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, हरिशरण नेपाली, राधा घले, मदनबहादुर अमात्य, जितजंग बस्नेत, मदनकृष्ण श्रेष्ठ र गंगा अवाले छन् । यस्तै, प्रदेश पदाधिकारीबाट महामन्त्री राजु श्रेष्ठसहित सहमहामन्त्रीहरू जीवन डंगोल, चन्द्र महर्जन, हरिशरण श्रेष्ठ छन् ।
ती पदाधिकारीका अनुसार लोकतान्त्रिक अपाङ्ग महासंघका पूर्वअध्यक्ष भोजराज श्रेष्ठको नाम पनि सिफारिस भएको छ । जिल्ला सभापतिहरूबाट काठमाडौं सभापति कृष्ण बानियाँ सवुज र मकवानपुर सभापति बुद्धरत्न लामाको नाम सिफारिस भएको छ ।
वाग्मती प्रदेशबाट चार सिटका लागि निर्वाचन हुँदै छ ।

