काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लुटनमाथि रोमाञ्चक जित दर्ता गराएको छ । शनिबार लुटनको घरेलु मैदानमा चेल्सीले ३–२ को जित दर्ता गराएको हो ।
खेलेको ७० औं मिनेटमा कोल पालमरको ब्यक्तिगत दोस्रो गोलमा चेल्सी ३–० ले अघि रहेको थियो । सात मिनेटको अन्तरमा दुई गोल गर्दै लुटन खेलमा फर्कने कोशिश गरेपनि सफल हुन सकेन । रोस बार्कलेले खेलको ८० औं मिनेटमा लुटनका लागि पहिलो गोल गरेका थिए । खेल सकिन तीन मिनेट अघि एलिजा अदेबायोले घरेलु टोलीका लागि दोस्रो गोल गरे ।
खेलमा अग्रता चेल्सीले १२ औं मिनेटमा पालमरको गोलमा लिएको थियो । कमजोर डिफेन्सको फाइदा उठाउँदै क्लियर हुन नसकेको बलमा पालमरले चेल्सीका लागि गोल गरेका थिए । नोनी मडुकेले ३७ औं मिनेटमा चेल्सीको लागि दोस्रो गोल गरे । पालमरको पासलाई सदुपयोग गर्दै नोनीले लण्डन क्लबको अग्रता दोब्बर बनाएका थिए ।
खेलको ७० औं मिनेटमा पालमरले चेल्सीका लागि तेस्रो गोल गरे । गोलकिपरबाट रिलिज भएको बलमा ब्यक्तिगत रुपमा अघि बढाउँदै पालमरले लण्डन क्लबको अग्रतालाई ३–० मा पुर्याएका थिए । वर्षको अन्तिममा जित सहित चेल्सीले सन् २०२३ को बिदाई गरेको छ ।
चेल्सी २८ अंक सहित तालिकाको दशौं स्थानमा रह्यो । रेलिगेशन जोनमा रहेको लुटन १५ अंक सहित पुछारदेखि तेस्रोमा छ ।