काठमाडौं । हेटौँडामा भएको केशवलाल श्रेष्ठ स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ। हिजो (सोमवार) भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिका न्यु डाइमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधिसहित २ लाख रुपैयाँ नगद जितेको हो।
एपिएफले न्यु डाइमन्डलाई १९–२५, २०–२५, १७–२५ र २३–२५ को सेटमा हराएको हो। उपविजेता भएको न्यु डाइमन्डले १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल प्राप्त गरेको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक विजय केसी र उत्कृष्ट सर्भर एपिएफकी सरस्वती चौधरी हुँदा बाँकी विधागत उत्कृष्ट खेलाडीको पुरस्कार न्यु डाइमन्डले प्राप्त गरेको छ। उत्कृष्ट स्पाइकर जेनिसा विश्वकर्मा, ब्लकर सुमित्रा रेग्मी, डिफेन्डर सलिना श्रेष्ठ र सेटर प्रगति नाथ घोषित भए।
सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ र विधागत उत्कृष्टले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे। पाँचवटा टोलीको सहभागिता रहेको प्रतियोगिता सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन भएको थियो।