महोत्तरी। महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गएराति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामगोपालपुर नगरपालिकाको थलही विर्ताका ३० वर्षीय मुकेश चमार र भङ्गहा नगरपालिका–३ का ३२ वर्षीय धमेन्द्र महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
दुर्घटनामा ती मोटरसाइकलको पछाडिमा सवार भङ्गहा –५ का ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका ३६ वर्षीय प्रदीपकुमार यादव घाइते भएका छन्। उनीहरूको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको छ।
गए राति जलेश्वरबाट बर्दिबासतर्फ जाँदै गरेको ज ११ प ८०९९ नम्बरको मोटरसाइकल र बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र२–०२–००४प १८४० नम्बरको मोटरसाइकल औरही नगरपालिका–१ स्थित वडा कार्यालय नजिकै ठक्कर खाँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रनाउ गिरीले बताए।
बाक्लो हुस्सुका कारण तीव्रगतिमा रहेका दुवै मोटरसाइकलका चालकले एकअर्कालाई नदेखेको र अचानक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापश्चात गम्भीर घाइते दुवै चालकलाई उपचारका लागि शुभस्वस्तिक अस्पतालमा लगिएकामा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो।

