काठमाडौँ । सरकारले ‘प्रधानमन्त्री दैवीप्रकोप सहायता कोष’ मा मौज्दात रकममध्येबाट विपद् व्यवस्थापन कोषमा २ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ।
मन्त्रिपरिषद्को मंगलवारको बैठकले राष्ट्रिय विकास परिषदमा विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी/व्यक्तिमध्येबाट २५ जना सदस्य मनोनयन गरेको छ।
मन्त्रिपरिषद्का निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषदबाट विभिन्न मितिमा शहीद घोषणा भई विवरण फरक परेका शहीदहरुको विवरण सच्च्याउने, नेपाल राजपत्रमा प्रकाशित हुन छुट शहीदको नाम प्रकाशन गर्ने र थप शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी दिइन्।
सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले भनिन्, ‘मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बल नेपालको श्रेणीविहीन पदमा स्तरवृद्धि कायम भएका श्रेणीविहीन प्रथमस्तर, द्वितीयस्तर, तृतीयस्तर, चतुर्थस्तर र पाँचौँस्तर पदको शुरु तलबमान, ग्रेड सङ्ख्या र ग्रेड दर स्वीकृत गर्ने निर्णय गरेको छ।’

