काठमाडौं । आयोजक आइभोरी कोष्टले ‘अफ्रिका कप अफ नेशन्स’ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
राजधानी अबिड्जानमा शनिबार राती भएको खेलमा आइभोरी कोष्टले गिनी–बिसाउलाई २–० ले हरायो । आइभोरी कोष्टका लागि सेको फोफाना र जिन फिलिपे क्रासोले एक एक गोल गरे । जितसँगै तीन अंक जोडेको आइभोरी कोष्टले समुह ‘ए’ मा अग्रता लिएको छ ।
समुहको दोस्रो खेलमा आइतबार राती नाइजेरिया र इक्वेटोरियल गिनिया भिड्नेछन् । अफ्रिकी महादेशमा वर्षाबाट प्रतियोगितालाई जोगाउन सन् २०२३ को जुन–जुलाईमा हुनुपर्ने अफ्रिका कप आफ नेशन्स यो वर्ष जनवरीमा सारिएको हो ।
आइभोरी कोष्टले प्रतियोगिताको तयारी र आयोजनामा एक अर्ब बढी अमेरिकी डलर खर्च भएको जनाएको छ ।