काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मंगलबारदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ। माघ ११ गते हुने निर्वाचनमा निष्पक्षता र पारदर्शिता कायम गर्न निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो।
निर्वाचन आयोगका अनुसार मंगलबारदेखि माघ १२ गतेसम्म आचारसंहिता लागू हुने र आचारसंहिताको दफा १ अनुसार सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ।
आचारसंहिताको नियम अनुसार अब कुनै पनि सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइँदैन।
यस्तै कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अंकित सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण वा प्रदर्शन गर्न गराउन पाइँदैन भने जुलुस, आमसभा गर्न र सामाजिक सञ्जालमा भोट माग्न, गलत–भ्रामक सूचना प्रवाह गर्न नहुने आयोगले जनाएको छ।

