काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
पार्टीकी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सांसद निशा डाँगी र पूर्वाधार विभागका सचिव ई. कृष्ण भेटवालले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।
डक दुर्घटना बढिरहेको सन्दर्भमा रास्वपाले दुर्घटना न्यूनीकरणका लागि सरकारलाई दबाब दिएको हो। सडक सुरक्षा परिषद् प्रभावकारी हुन नसकेकोप्रति उसको भनाइ छ। चालक अनुमति पत्रमा कडाइ, सुरक्षित सडक निर्माण र सवारीको यान्त्रिक परीक्षणलाई अनिवार्य गर्ने गरी नीतिगत सुधार गर्ने योजना भए-नभएकोबारे रास्वपाले जवाफ मागेको छ।
०७६ पुस ४ गते प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सांसद गणेश पहाडीको नेतृत्वमा गठन गरेको उपसमितिले दिएका सुझाव कार्यान्वयनका विषयमा रास्वपाले सरकारसँग जवाफ माग गरेको छ। त्यसैगरी, दुर्घटनापिच्छे बन्ने छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा ल्याउने नगरेको भन्दै पार्टीले चालक वा यान्त्रिक गडबडीलाई दोष दिने प्रवृत्तिप्रति आपत्ति जनाएको छ।


