यू–१९ विश्वकप: नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दै छ । आजको खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तानलाई हराइसकेको छ । सन् २००२ को यू–१९ विश्वकप न्युजिल्यान्डमा आयोजना भएको थियो । त्यही विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो ।

जारी प्रतियोगितामा भने नेपालको यो दोस्रो खेल हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उक्त खेलमा टस जिती पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय दुई रन बनाएको थियो ।

यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल, न्युजिल्यान्ड र पाकिस्तानका अतिरिक्त अफगानिस्तान पनि रहेको छ । नेपालले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

नेपाल क्रिकेट संघ क्यान ले यसपटक यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा छन् ।

नेपाली टोलीमा उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि रहेका छन् । यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो । यसपटक प्रतियोगितामा १६ वटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी १६ टोलीलाई चारवटा समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय