काठमाडौँ । १९ वर्षमुनिको एकदिवसीय विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ। दक्षिण अफ्रिकाको इस्ट लण्डनको बफेलो पार्कमा आज ९बुधवार० भएको खेलमा पाकिस्तान नेपालले दिएको १९८ रनको लक्ष्य अजान अवेसको अर्धशतकीय पारीको मद्दतले ४७ ओभर ४ बलमा ५ विकेटमात्र गुमाउँदै भेट्टायो।
पाकिस्तानका लागि अवेसले ८२ बलमा ६ चौकासहित अविजित रहेर ६३ रन बनाए। अवेसलाई १८ बल खेलेर २ चौकाको सहायतामा अविजित रहँदै १५ रन बनाएर हारुन अर्सदले खेल जिताउन सघाए।
पाकिस्तानका लागि ओपनर जोडी शामिल हुसेनले १ छक्का र ४ चौकासहित ३७ र शाहजाब खानले १ छक्का र ३ चौकाको मद्दतमा ३७ रन नै बनाएर बलियो शुरुवात गरे। दुवैले पहिलो विकेटका लागि ८० रनको साझेदारी गरे। पहिलो खेलमा अफगानिस्तानलाई १८१ रनले हराउँदै उच्च लयमा रहेको पाकिस्तानले आज नेपाललाई हराउँदै लगातार दोस्रो खेल जितेर दोस्रो चरणको सम्भावना बलियो बनाएको छ।
पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपाल आज एशियाली पावरहाउस पाकिस्तानसँग पराजित भएपछि दोस्रो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ।