काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस दिने व्यक्ति विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। घूस लिएको आरोपमा राहदानी विभागमा कार्यरत कम्प्युटर इन्जिनीयर प्रदीप भट्टराई र घूस दिएको आरोपमा सुमित्रा सापकोटाविरुद्ध अख्तियारले आइतबार मुद्दा दर्ता गरेको हो।
दुवै जना विरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागबाट राष्ट्रिय परिचय पत्र सहजीकरणको लागि राहदानी विभागमा खटाइएका कम्प्युटर इन्जिनियर भट्टराईले सेवाग्राहीहरुलाई राहदानी बनाइदिने भनी रकम लिएको हुँदा प्रचलित कानून बमोजिम कारबाही हुन भन्ने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको पत्र र उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा दोषी पाईएको अख्तियारको भनाइ छ।
घूस लिएको आरोप लागेका इन्जिनीयर भट्टराईलाई तीनदेखि चार महीना कैद सजाय माग दाबी गरिएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार २५ हजारदेखि ५० हजार रुपैयाँ घूस लिंदा तीनदेखि चार महीना कैद हुने व्यवस्था छ।
त्यस्तै, घूस दिएको आरोपमा सापकोटालाई भट्टराईलाई हुने सजायको आधा सजाय दाबी गरिएको छ। ऐनको दफा ३ को उपदफा ४ मा घूस लिन दुरुत्साहन गर्ने व्यक्ति राष्ट्रसेवक भए त्यही बराबर र अन्य व्यक्ति भएमा आधा सजाय हुने व्यवस्था छ।

