काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेट अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बुधबार बंगलादेशसँग खेल्दैछ।
आजको खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ। त्यसका लागि नेपाली टोली गत आइतबार इस्ट लन्डनबाट ब्लोमफोन्टन पुगिसकेको छ।
नेपालले शुक्रबार अफगानिस्तानमाथि १ विकेटको ऐतिहासिक विजय हात पार्दै सुपर सिक्समा पुगेको थियो। पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भए पनि समूह चरणको निर्णायक खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरी सुपर सिक्समा पुगेको थियो।
समूह चरणका खेलमा बंगलादेशले अमेरिकालाई १२१ रन र आयरल्याण्डमाथि ६ विकेटको जित निकालेको थियो। भारतसँग भने ८४ रनले पराजित भएको थियो।
नेपाल र बंगलादेशबीच विश्वकपमा तेस्रो पटक आमनेसामने हुन लागेका हुन्।