काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले खेलकुदको विकासका लागि सरकारले आवश्यक बजेट छुट्याउन नसकेको बताएका छन् ।
आज शनिबार ललितपुरमा तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै नेता कोईरालाले यस्तो बताएका हुन् । उनले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट छुट्याउन आवश्यक रहेको बताएका छन् । उनले खेलाडीलाई घोषणा गरिएको रकम सरकारले चाँडै उपलब्ध गराउनुपर्ने बताएका छन् ।
नेता कोईरालाले कुनैपनि देशलाई विकास गर्नका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् । उनले खेलकुदको विकास गर्नसके मात्रै युवाहरु आकर्षित हुने र अनुशासित हुने बताए । खेलकुदलाई सबै राजनीतिकर्मीहरुले महत्वपूर्ण विधाको रुपमा लिएर अघि बढ्नुपर्ने बताए ।
नेता कोईरालाले अध्ययन जत्तिकै खेलकुद पनि महत्वपूर्ण रहेको बताए । अनुशासित भएर खेल्ने हो भने खेलबाटै देशको नाम चम्किने बताए । उनले आगमी आर्थिक वर्षको बजेटमा खेल क्षेत्रको बजेट बढाउने गरी आफूहरले पहल गर्ने बताए ।