काठमाडौँ । नेपाल वायुसेवा निगमले दुईवटा न्यारोबडी जहाज भाडामा लिनका लागि आज अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको छ।
पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई समेत सेवा दिन दुईवटा न्यारोवडी जहाज भाडामा लिने निर्णयअनुसार बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ।
‘निगमको कार्ययोजना अनुरुप हाल निगमसँग रहेका दुईवटा वाइडबडी जहाज जापान, सिड्नी र दक्षिण कोरिया उडानमा प्रयोग भएका छन्। अन्य गन्तव्यको उडान चाप मौजुदा जहाजले धान्न नसक्ने भएकाले जहाज भाडामा लिन लागिएको हो। यसबाट दिल्ली, दुबई, दोहा, मलेसियालगायतका गन्तव्यको उडान चाप व्यवस्थापन गर्न सकिन्छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
जहाज थप भएसँगै निगमको आय बढ्ने र भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट समेत अन्य गन्तव्यमा उडान गर्ने निगमको योजना छ।
सरकारबाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरुले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव दिएकाले जहाज भाडामा लिन लागिएको निगमको भनाइ छ।

