प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बस्दैछन्।

संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर १ मिनेटमा बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

साथै सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

आजै बस्ने प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ।

पूर्वमन्त्री बुढाथोकी २०६४ र २०७० को संविधान सभा सदस्य थिए। बुढाथोकीको हिजो विराटनगरमा निधन भएको हो।

आजको प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय