काठमाडौं । नेकपा एमालेले संघीय संसद्को हिउँदे अधिवेशनमा जनताको मुद्दा, विकास समृद्धि, सुशासन र स्वाधीनताको पक्षमा खरो रूपमा उत्रिने भएको छ।
आज बुधबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै एमाले प्रमुख सचेतक पदम गिरीले देशभरका जनता निराश रहेकाले जनतामा आशा जगाउने गरी आफूहरूले संसद्मा भूमिका खेल्ने स्पष्ट पारेका हुन्।
‘देशमा विकास निर्माणका काम ठप्प छन्। समृद्धिको मुद्दा ओझेलमा परेका छन्। जसकारण जनतामा चरम निराशा देखिएको छ’, उनले भने, ‘अब यी विषय प्रमुख प्रतिपक्षीको हैसियतले एमालेको प्राथमिकताको मुद्दा बन्नेछन्।’
मुलुकमा एकपछि अर्को भ्रष्टाचारको काण्ड आइरहे पनि सरकारले कुनै पनि भ्रष्टाचारीलाई साँच्चिकै कारबाहीको दायरमा ल्याउने चेष्टा नगरेको प्रमुख सचेक गिरीले टिप्पणी गरे।

