माओवादी स्थायी समिति बैठक आज पनि बस्ने

काठमाडौँ । हिजोदेखि जारी नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

हिजोको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष पम्फा भुसालले विधानका प्रमुख विशेषताका बारेमा बैठकमा प्रस्तुति दिएकी थिइन् ।

विधानमाथि महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवद्वय गणेश साह र राम कार्की तथा स्थायी समिति सदस्य शशि श्रेष्ठले धारणा राखेका थिए ।

विधानमा धारणा राख्ने अधिकांश सदस्यले पार्टी विधानमा समाजवादी मूल्य, मान्यता र आदर्श स्थापित तथा समाजवादी विचारधारा प्रवाहित हुनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । नेताहरूले पार्टी कमिटी चुस्त दुरुस्त हुनुपर्ने, केन्द्रीय समिति एक सय ५१ सदस्यीय बनाइनुपर्ने धारणा व्यक्त गरेका थिए ।

माओवादीले विधानमाथि छलफल गर्न आइतबार र सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन आयोजना गरेको छ । फागुन १, २ र ३ गते विधान सम्मेलन हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर