एसीसी वुमन्स प्रिमियर कपमा नेपालद्वारा हङकङ पराजित

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपअन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले हराएको छ। जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो।

नेपालका लागि कप्तान इन्दू बर्माले सर्वाधिक ४० रनको योगदान दिइन्। उनले ३३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका हानिन्। यस्तै सीता रानामगरले अविजित ३६ रन बनाइन्। उनले ३८ बल खेल्दै एक छक्का र एक चौका प्रहार गरिन्। कविता कुँवरले चार रन जोडिन्। बलिङतर्फ हङकङकी इक्रा सहर र चान का यिङ क्यारीले एक एक विकेट लिइन्।

मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिइन्। हङकङले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर ९३ रन बनायो। हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन्।

उनले ३१ बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन्। यस्तै मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रन बनाए। बलिङतर्फ नेपालकी पूजा महतो र रुविना क्षेत्रीले दुई दुई तथा कविता जोशी र सीता रानामगरले एक एक विकेट लिए।

नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), अप्सरी बेगम, डली भट्ट, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, रुविना क्षेत्री, सीता रानामगर, सम्झना खड्का, पूजा महतो र रोमा थापा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर