गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ। परम्परागत खेतीकै कारण उत्पादन घटेको बताइएको छ।
जिल्लाका किसानहरूले परम्परागत रुपमा खेती गर्नु, बगैँचामा सूक्ष्म तत्व, मलखादको प्रयोग नगर्नुका कारण बोट तथा रसिलो फलहरूमा कमी आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ।
गत वर्ष छ हजार ९३८ दशमलव ४ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष छ हजार ५७२ दशमलव ४ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए।
गत वर्ष २९ करोड ३७ लाख दुई हजार ४७२ रुपैयाँको सुन्तला उत्पादन भएको थियो भने यस वर्ष २३ करोड ७८ लाख ५५ हजार १५६ रुपैयाँको सुन्तला उत्पादन भएको भण्डारीले बताए। गत वर्ष जिल्लाबाट १३ करोड २१ लाखको सुन्तला जिल्लाबाहिर निर्यात भएको थियो भने यस वर्ष १२ करोड ८४ लाखको सुन्तला निर्यात भएको छ।
यस वर्ष उत्पादन घट्नुमा गत वर्ष बढी उत्पादन हुनु, फल पातलो लाग्नु, फलका दानाहरू साना हुनु रहेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ।

