काठमाडौँ । यू-१९ एकदिवसीय विश्वकप क्रिकेटको उपाधि चौथो पटक अष्ट्रेलियाले जितेको छ।
दक्षिण अफ्रिकाको विलोमूर पार्क, बेनोनीमा आज भएको फाइनलमा २५४ रनको लक्ष्य पछ्याएको भारतले खराब प्रदर्शन गर्दै ४३ ओभर ५ बलमा अलआउट भएर जम्मा १७४ रनमात्र बनाएपछि अष्ट्रेलिया ७९ रनले विजयी भयो।
भारतका लागि मुसिर खानले २२‚ आदर्श सिंहले ४७ रन र मुरुगन अभिषेकले ४२ रन तथा नमन तिवारीले १४ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।
अष्ट्रेलियाका लागि मली बेयर्डम्यान र र्याफ म्याकमिलनले ३/३ विकेट‚ क्यालम विडलरले २ विकेट र चार्ली एन्डरसन तथा टम स्ट्रेकरले १/१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २५३ रन बनायो। अष्ट्रेलियाका लागि हरजस सिंहले सर्वाधिक ५५ रनको योगदान गरे।
कप्तान ह्युग वेबगेनले ४८ रन बनाउँदा ओलिभर पिक ४६ रनमा अविजित रहे। ह्यारी डिक्सनले ४२ तथा चार्ली एन्डरसनले १३ रनको योगदान गरे।
बलिङतर्फ भारतका राज लिम्बानीले सर्वाधिक ३ विकेट र नमन तिवारीले २ विकेट लिए।
भारतले अहिलेसम्म ५ पटक यू-१९ विश्वकप जितेको छ। गत वर्ष पनि उपाधि जितेको भारत यस पटक पनि च्याम्पियन हुँदै छैटौँ पटक उपाधि जित्ने दाउमा रहे पनि अष्ट्रेलियाले विफल बनाइदिएको छ।