प्रचण्डको नेतृत्वमा पुनर्गठनको प्रक्रियामा अघि बढ्नुपर्छ: नारायणकाजी श्रेष्ठ

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पुनर्गठनको प्रक्रियामा अघि बढ्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा पार्टीको विधान सम्मेलनको उद्‌घाटन समारोहमा उनले समाजवादको आधारशिला तय गर्न अध्यक्ष प्रचण्डको नेतृत्वमा पार्टी रूपान्तरण र पुनर्गठन गरी अघि बढ्न जरुरी रहेको बताएका हुन्।

श्रेष्ठले भने, ‘अहिलेको कार्यभार हाम्रो पार्टीमा मात्रै पूरा गर्नुपर्छ। तर पार्टीलाई यथास्थितिमा राखेर सम्भव छैन। त्यस कारण पार्टी अध्यक्ष कमरेडको नेतृत्वमा रूपान्तरण र पुनर्गठनको प्रक्रियामा जानै पर्छ। त्यसका लागि नयाँ पहलकदमी गरिरहेका छौं। त्यसको संकल्प गरौं।’ प्रचण्डका कमीकमजोरीको बारेमा आलोचना गर्न पाइने तर राष्ट्रिय र पार्टीका कार्यभार पूरा गर्न अहिले उनकै नेतृत्वमा अघि बढ्नुपर्ने श्रेष्ठको भनाई थियो।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले सबै वामपन्थी एक ठाउँमा आउनुपर्ने पनि बताए। ‘हाम्रो पार्टीले मात्रै पुग्दैन। अब सबै वामपन्थी एक ठाउँमा आउनुपर्छ,’ उनले भने। सांस्कृतिक र वैचारिक क्रान्ति नै अहिलेको मुख्य कार्यभार भएको उनले बताए। श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेरै छाड्ने बताए।

उनले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रूपमा मनाइने बताए। श्रेष्ठले भने, ‘आजको दिन ऐतिहासिक जनयुद्ध दिवस हो, क्रान्तिकारी नेपाली जनताले यसलाई मनाउँछन्। मनाइरहेका छन्। आज हामी त्यसकारणले पनि मनाइरहेका छौँ। कुनै सन्दर्भ फेरि शान्ति प्रक्रियालाई पार गरिसकेपछि अदालतले जे संकेत गरेको छ, त्यसअनुसार फेरि सरकारले अर्को निर्णय गरेर जनयुद्ध दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रूपमा मनाउने स्थिति पनि आउन सक्छ।’

उनले यस वर्षका लागि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गर्दा अदालतको निर्णयलाई पालना गरेर जानु आफ्नो कर्तव्य भएको बताए। ‘हाम्रो सरकार अहिले शान्तिपूर्ण कार्यदिशाको प्रक्रियामार्फत अघि बढेको सरकार हो,’ उनले भने, ‘त्यस कारण अदालतको निर्णयलाई पालना गरेर जानु आफ्नो कर्तव्य ठान्दछौं।’

उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियालाई पार गरिसकेपछि सरकारले अर्को निर्णय गरेर जनयुद्ध दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रूपमा मनाउने स्थिति आउन सक्ने बताए। साथै उनले अहिलेको उपलब्धिको रक्षा गर्नु आफूहरूको प्रमुख कार्यभार रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय