काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले २० वटा समूह बनाएर विधानमाथि छलफल सुरु गरेको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी विधान सम्मेलनमा संशोधित विधान मस्यौदा पेस भएको छ।
पार्टीको प्रस्तावित विधानमाथि छलफलका निम्ति २० समूह बनाइएको महासचिव देव गुरुङले जानकारी दिए। समूहमा छलफल गरेर टोली नेताले सुझाव पेस गर्नेछन्। पार्टी कमिटी सानो बनाएर व्यवस्थित ढंगले पार्टी चलाउने लक्ष्यका साथ माओवादीले विधान अधिवेशन गरेको हो।
अधिवेशन तीन दिनसम्म चल्नेछ। विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको थियो। उक्त समितिले गएको पुस २७ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मस्यौदा बुझाएको थियो।
सम्मेलनमा एक हजार २०० भन्दा बढी प्रतिनिधिको सहभागिता छ। केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी र जनवर्गीय संगठनका पदाधिकारी सम्मेलनमा सहभागी रहेका पार्टीले जनाएको छ।

