काठमाडौँ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज पाहुना टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ९:१५ बजेदेखि सुरु हुनेछ ।
नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो । नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो ।
लिग–२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, लिग–२ शृङ्खलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सातवटा राष्ट्र मात्र सहभागी थिए ।
लिग–२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो । सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदै छ । यसपटक लिग–२ प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् ।