काठमाडौँ । सांसदहरुले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नैतिकताको आधारमा राजीनामा दिन माग गरेका छन्। आइतवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसदहरुले सरकारले गठन गरेको छानबिन समितिले मन्त्री ज्वालालाई दोषी देखाएकाले उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।
मन्त्री ज्वालाले राजीनामा नदिए प्रधानमन्त्रीले तुरुन्त पदबाट बर्खास्त गर्नुपर्ने सांसदहरुको माग छ। सञ्चारकर्मीसँग नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले मन्त्री ज्वालाको गल्ती प्रमाणित भइसकेको भन्दै नैतिकताको आधारमा पदमा बसिराख्न नमिल्ने बताए।
उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री पनि अख्तियारको छानबिनमा परेको भन्दै उनले पनि राजीनामा दिनुपर्ने बताए। ‘सम्बन्धित मन्त्रीले नैतिकताको हिसाबले पदमा बस्न मिल्दैन। उहाँको गल्ती प्रमाणित भइसकेको छ। राजीनामा गर्नु भएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ‚’ उनले भने‚ ‘भौतिक पूर्वाधारमन्त्री र स्वास्थ्यमन्त्रीलाई कि त बर्खास्त गर्नुपर्यो कि राजीनामा दिनुपर्यो।’
एमालेकै सांसद रघुजी पन्तले विगतदेखि नै अख्तियारको छानबिनमा परेका मन्त्रीले राजीनामा दिने प्रचलन रहेको भन्दै स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए। भौतिक पूर्वाधारमन्त्रीले पनि राजीनामा दिनुपर्ने आफूहरुको अडान रहेको स्पष्ट पारे।
उनले भने‚ ‘हाम्रो सचेतकले स्वास्थ्यमन्त्रीको राजीनामा पनि माग्नुभएको छ। प्रकाश ज्वालाजीको पनि राजीनामा माग्नुभएको छ। हाम्रो अडान पनि त्यही हो। राजीनामा गर्न मान्दैनन् भने प्रधानमन्त्रीले तुरुन्त उनीहरुलाई पदबाट हटाउनुपर्छ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले पनि भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामा माग गरे। राजीनामा नआएमा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको भनाई छ।
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले पनि मन्त्री ज्वालाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए।
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले राज्यको सम्पत्ति अनधिकृत रुपमा भोगचलन गर्नेहरुलाई कारबाही गर्न पहल लिइरहेको बताए। उनले सरकार सुशासन कायम गर्न लागि परेको दावी गरे।
उनले भने‚ ‘सरकारी जग्गाहरु राज्यको स्वामित्वमा ल्याउने, सरकारले सुशासनको क्षेत्रमा विभिन्न चरणमा विभिन्न बहानामा पद दुरुपयोग गरेर राज्यका सम्पत्ति भोगचलन गर्ने प्रवृत्ति रोक्न यो सरकारले पहल लिएको छ। त्रुटी हुँदा आलोचना गर्ने कुरालाई सम्मान गर्छौं।’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ललितानिवास जग्गा प्रकरणमा अदालतले गरेको फैसला प्रशंसनीय भएको बताए। उनले यसलाई आफूले सकारात्मक रुपमा लिएको लिएको पनि बताए।
उनले भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामाको सन्दर्भमा सत्तामा बस्नेहरुसँग नैतिकता नभएको टिप्पणी गरे।

