नामिबियाविरुद्ध नेदरल्यान्ड्सको सहज जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध सात विकेटको सहज जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नामिबियाले प्रस्तुत गरेको १२४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा तीन विकेट गुमाएर भेट्टाउँदै शृंखलामा पहिलो जित निकालेको हो ।

नेदरल्यान्ड्सको जितमा ओपनर माइकल लेभिटले ५७ रन बनाए । उनले एक बलमा आठ चौका र दुई छक्का प्रहार गरे । लेभिटले पहिलो विकेटका लागि म्याक्स ओ‘डोडसँग सात रनको साझेदारी गर्दै नेदरल्यान्ड्सलाई बलियो सुरुआत दिलाएका थिए । ओ‘डोडले २८ रन थपे । यस्तै, बास डे लिडे २१ रनमा अविजित रहे । नामिबियाका कप्तान गेरहार्ड इरास्मसले तीन विकेट लिए ।

त्यसअघि नेदरल्यान्ड्सका आर्यन दत्तले घातक बलिङ गरेपछि टस हारेर फिल्डिङमा आएको नामिबियाले ३५.१ ओभरमा सबै विकेट गुमाएर १२३ रनमा अलआउट भएको थियो । नामिबियालाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका आर्यन दत्तले ६ विकेट लिएका थिए ।

नौ ओभर बलिङ गरेका दत्तले ३४ रनमात्र खर्चिए । काइल क्लेइनले दुई विकेट लिँदा रोइलोफ भान डेर मेर्वे र म्याक्स ओ‘डोडले समान एक विकेट लिए । नेदरल्यान्ड्सको बलिङविरुद्ध संघर्षरत नामिबियाका जेजे स्मिथले सर्वाधिक २६ रन बनाए । रुवेन ट्रम्पेलमेनले २० र जेन ग्रिनले १९ रन थपे । यस्तै, निकोलास डाभिन र कप्तान गेरहार्ड इरास्मसले समान १३ रन बनाउँदा बर्नार्ड स्कोल्जले १२ रन जोडे ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी शृंखलामा नामिबियाको यो पहिलो हार हो । यसअघि नामिबियाले शृंखलाको पहिलो खेलमा नेपाललाई चार विकेटले हराएको थियो । यता, नेदरल्यान्ड्सको भने यो पहिलो जित हो । यसअघि नेदरल्यान्ड्स आफ्नो पहिलो खेलमा नेपालसँग नौ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय