सर्लाही । बरहथवामा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
बरहथवा नगरपालिका–१५, प्रिपाभित्तास्थित बागमती नदीको नहरमा बुधबार ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टर धनीसमेत रहेका चालक रौतहटको गढीमाई नगरपालिका–९ का ५५ वर्षीय जयलाल सहनी र ५० वर्षीय रामनाथ सहनीको घटनास्थलमै मृत्यु भएको हो। सर्लाहीका प्रहरी प्रवक्ता दिपेन्द्र पञ्जियार थारुकाअनुसार घाइते भएका छ जनामध्ये दुईको अवस्था गम्भीर छ ।
रौतहटबाट सर्लाहीको हजरियातर्फ आएको ट्र्याक्टर अनियन्त्रित भई बागमती नदीको नहरमा खसेको थियो।
ट्र्याक्टर दुर्घटनामा गढीमाई नगरपालिका–९ बस्ने १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी, १७ वर्षीय आकाश सहनी, ४५ वर्षीय सुकल देवी, १६ वर्षीया अञ्चला कुमारी र १८ वर्षीया नितेश सहनी घाइते भएका छन्।
गम्भीर घाइते आकाश र किसनको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको रौतहटको गौर गरुडामा उपचार भइरहेको प्रहरी प्रवक्ता थारुले जानकारी दिए।